राराको सुन्दरता नियाल्दा

–कमलकुमार बस्नेत

अंग्रेजीमा एउटा भनाइ छ, HEAVEN IS MYTH NEPAL IS REAL यदि यो वाक्यलार्इ सत्य मान्ने हो भने रारा त्यही स्वर्गको एउटा टुक्रा हो जसले नेपाललाई स्वर्ग बनाएको छ । अझै भनाै न यदि सबैले राम्रो मान्ने स्वर्ग सत्य छ भने रारा पनि त्योभन्दा कम छैन । यस अर्थमा प्रकृतिका उत्कृष्ट सिर्जनामध्ये एक ‘रारा ताल’ पनि  हो ।

रारा यती सुन्दर लाग्छ कि सुन्दरतालाई बयान गर्ने सबै खाले ‘उपमा’हरु पनि सायद कमै हुन्छन ।


‘रारा ताल’ पुग्ने जो कोही पनि यसको सुन्दरताबाट मोहित हुन्छन । व्यस्त दैनिकीको  चक्रबाट केही दिन अलग्गिएर रारा पुग्ने जो कोही पनि राराको सुन्दरताको गहिराइमा डुबुल्की मार्न बाध्य हुन्छन ।

हामी रारा पुग्दा कोही भिडियो खिँच्दै राराको बयान गरिरहेका थिए त कोही सुन्दरतालाई तस्बिरमा जीवित बनाउँदै थिए । रारा तालको छेउमा उभिएर विभिन्न कोणबाट तस्बिर कैद गर्दै आफूलाई राराको सुन्दरतामा साक्षी बनाउँदै गर्नेहरु पनि सयाैं थिए ।


केही वर्ष मात्रै अगाडिसम्म भौगोलिक रुपमा विकट मानिने रारा कालिकोटदेखि मुगुसम्म पुग्ने बाटो खुलेपछि निकै सहज भएको छ ।


सुर्खेतदेखि रारासम्मको यात्रामा भने बाटैभरी आउँदै गरेका र जाँदै गरेका हजारौं आन्तरिक पर्यटकहरु भेटिन्थे । मोटरबाइक हाँकेर जानेदेखि, जीप रिर्जभ गरेर र सुर्खेतबाट सार्वजनिक यातायातमा रारा पुग्नेको संख्या बाटो भरी नै बाक्लो थियो ।

त्यसमाथि दशैंको बिदा सदुपयोग गर्नका लागि देशका कुनाकुनाबाट हजारौंको संख्यामा पर्यटकहरु हिमाली जिल्ला पुगेका थिए ।


रारा पुग्ने सबैभन्दा सजिलो बाटो नेपालगञ्जदेखि ताल्चा एयरपोर्टसम्म हवाइ यात्रा हो । तर हामीले मोटरबाटोलाई रोजेका थियौ ।

यसको कारण के पनि थियो भने मोटरबाटोबाट जाँदा हुने ‘एड्भेन्चर’ प्लेनबाट जाँदा हुन्न कि भन्ने थियो । यद्यपी हवाइमार्गबाट जाँदा हेर्न पाइने राराको ‘एरियल भ्यू’को रमाइलो पनि भिन्दै छ ।


समुन्द्री सतहदेखि २९९० मिटरको उचाइमा रहेको रारा ताल १ हजार ५८३ हेक्टर क्षेत्रफल (६.११ स्क्वायर माइल)मा फैलिएको छ । जसको लम्बाइ ५.१ किलोमिटर र चौडाइ २.७ किलोमिटरमा फैलिएको छ । त्यस्तै १६७ मिटर गहिरो छ । जहाँ विभिन्न प्रजातीका माछा पाइन्छन् । रारामा १ हजार ७५ प्रकारका विभिन्न प्रजातीहरु पाइन्छन ।


सुर्खेतको बसपार्कबाट रारा पुग्न मोटरबाटो हुँदै जानेका लागि २ दिन लाग्छ । पहिलो दिन कालिकोट वा नग्मासम्म पुगिन्छ भने अर्को दिन साँझपख रारा पुग्न सकिन्छ । रारा पुग्नका लागि मोटरयात्रा अलिक खर्चिलो छ ।

सार्वजनिक यातायात मै जाँदा पनि कम्तीमा २ हजारदेखि २५ सय खर्च हुन्छ । तर बीचबाटोमा खान र बस्नका लागि भने उती धेरै खर्च लाग्दैन । बढीमा ५ सयमा कोठा पाइन्छ भने खाना पनि २ सय रुपैयाँभन्दा बढी पर्दैन ।


हामी ताल्चा पुग्दा रारा हेर्न पुग्ने हामी जस्तै हजारौ पर्यटकको होटलमा भीड थियो । सुत्नका लागि मात्रै भए पनि कोठा पाउनु निकै गाह्रो थियो ।

स्थानीयका अनुसार यसरी पर्यटक बढेको यो पहिलो वर्ष हो । होटल सञ्चालकहरुलाई पर्यटक मिलाउन निकै गाह्रो भइरहेको थियो । २५ जनाको क्षमता भएको होटलमा २५० जनाभन्दा बढी बस्न बाध्य भएको सुनिन्थ्यो । एउटै कोठामा ५/७ जनासम्म बसेको देखिन्थ्यो ।

 राति ३ बजेसम्म पर्यटकहरुले खाना खाइरहेका देखिन्थे । यो वर्ष रारालाई आँखै अगाडि हेर्ने र स्पर्श गर्नेहरु धेरै देखिन्थे ।

समग्रमा हेर्दा राराको रंग निलो देखिन्छ । तर यो निलो मात्रै छैन । छेउमा पानी जस्तै कञ्चन देखिन्छ । अलिक पर हरियो र निलो देखिन्छ । अझै पर निलो र अझै पर गाढा निलो रंग पोतिए जस्तै देखिन्छ ।


राराको रंगले मोहित हुनेका लागि हावा चल्दा आउने पानीका छालहरुले अझ बढी आनन्द दिन्छन् । रारा यती बिशाल छ कि छेउमा उभिएर आँखाको एक सटले पूरै रारा आँखामा समेटिन्न ।

यसलाई एकै सटमा आँखामा कैद गर्न आँखालाई पानोरमा सटमा ढाल्नु पर्छ । तब मात्रै एकै सटमा रारा र यसको सुन्दरता आँखा र मनमा कैद हुन्छ ।


वरीपरी जंगलले हेरिएर बसेको रारालाई एकै पटक हेर्ने हो भने कि त हवाइजहाजबाट एरियल सट लिनु प¥यो । होइन भने झण्डै १० किलोमिटर माथि मुर्माटापूसम्म हिँड्न साहस जुटाउनु प¥यो ।

राराको छेउबाट पश्चिमतर्फ २ किलोमिटर तेर्सो र ८ किलोमिटर ठाडै उकालो उक्लिएपछि मूमा टापू पुगिन्छ । जहाँबाट सिंगो रारा, बिशाल रारालाई वरिपरीबाट घेरेको रारा राष्ट्रिय निकुञ्ज, बिशाल भिमकाय पहाडहरु र चुचेमरा हिमालसँगै कर्णाली नदी पनि देखिन्छ ।


मूर्मा टापूबाट बिशाल रारा ताल नियाल्दा सानो कटौरामा थपक्क बसेको निलो पानी जस्तै देखिन्छ । वरीपरी रारालाई घेरेर बसेका एकै नासका रुखहरु र पहाडहरु संरक्षक जस्तै देखिन्छन् । यी सबै नियाल्ने जो कोहीलाई राराको सुन्दरताले एकै छिनका लागि आफूमा समाहित बनाउँछ ।


आफैमा बिलिन गराउन सक्ने क्षमता भएको रारा तालको सुन्दरतामा मोहित हुन अहिले वर्षेनी देशैभरीका हजारौं पर्यटकहरु गइरहेका छन् । या भनौ राराले आफैतर्फ खिँचिरहेको छ ।



र अन्त्यमा,

सम्बन्धहरु केही बनाइन्छन त केही आफै बन्छन । आफैले बनाएका सबै सम्बन्धहरु राम्रा मात्र हुँदैनन् । हुनु नै पर्छ भन्ने पनि छैन । तर केही यस्ता सम्बन्ध हुन्छन जुन आकस्मिक रुपमा बन्छन । ती सम्बन्ध पनि राम्रा हुन्छन् ।


राराबाट फर्कदा यस्तै भयो ।

आकस्मिक रुपमा सम्बन्धमा नयाँ साथिहरु जोडिए । बाध्यकारी अवस्थामा रहेका फरक–फरक पात्रहरु दुई दिने यात्राका सारथी भए । यी दुई दिनमा हामीहरु यात्राका सहयोगीका रुपमा जोडियौ ।

क्षणिक नै सही यी सम्बन्ध ती दुई दिने यात्राका लागि जीवनमा अविष्मरणीय सम्झना बनेर रहनेछन् । यात्रालाई अझ बढी रमाइलो बनाउन सहयोगी भूमिका खेल्ने ती सबै साथिहरुलाई विशेष धन्यवाद ।

Comments

Popular posts from this blog

५ प्रडक्ट जसलाई गुगलले बन्द ग¥यो

चिसोबाट बच्न हात्तिले खाए भोड्का

मजदुर आन्दोलन र विदेशी लगानी