मजदुर आन्दोलन र विदेशी लगानी


  कमलकुमार बस्नेत

सरकारले सन् २०१२÷०१३ लाई लगानी वर्षका रुपमा मनाउने घोषणा गरेको थियो । तर, सरकारले गरेको घोषणा भने घोषणामै सीमित भएको छ । विदेशी लगानी ल्याउने र मुलुकलाई आर्थिक उन्नतिको बाटोमा पहिल्याउँछु भन्दै भाषण दिने नेताहरु पहिले नै आएका विदेशी लगानीलाई संस्थागत तथा स्थायी गराउन सकिरहेका छैनन्, जसको उदाहरण हाम्रासामु प्रष्टै छ ।
सन् २००४ मा स्थापना भएको सूर्य नेपाल गार्मेन्टमा तत्कालीन समयमा ७० करोड रुपैयाँ लगानी भएको थियो । कम्पनीले प्रसिद्ध ब्रान्ड जोन प्लेयर तथा स्प्रिङउडका नाममा कपडा उपत्पादन गर्दै आएको थियो । उत्पादन स्वदेशमा मात्रै नभई विदेश– भारत, फ्रान्स, क्यानडा, इटाली तथा अमेरिकामा निकै प्रसिद्ध थिए । यसका तयारी पोसाक ८५ प्रतिशत विदेश र १५ प्रतिशत नेपालमा खपत हुन्थे ।
करिब नौ वर्षअघि विदेशमा नेपाली उत्पादनको खपत कम भइरहेका बेला स्थापित सूर्य नेपाल गार्मेन्टले आर्थिक विकासमा निकै सहयोग पु¥याएको थियो । तर, मजदुरहरु विभिन्न ११ बुँदे माग अगाडि सार्दै आन्दोलनमा उत्रिएपछि बाध्य भएर करोडौं लगानीको कारखाना बन्द गर्नुपर्ने अवस्था आयो । यसले गर्दा करिब ६ सय मजदुरले जागिर गुमाउनुप¥र्यो । 

मजदुरहरुले न्यूनतम पारिश्रमिक २५ हजार रुपैयाँसम्म बढाउनुपर्ने, पेन्सन निस्कने समयमा १० लाख रुपैयाँ उपलब्ध गराउनुपर्ने, जीवन बिमा १ लाख रुपैयाँदेखि २ लाखसम्म हुनुपर्नेलगायतका माग अगाडि सार्दै आन्दोलन गरेका थिए । त्यस्तै, ५५ वर्ष उमेरसम्म जागिर गर्न पाउने अधिकारलाई बढाएर ५८ पु¥याउनुपर्ने माग थियो । 
तर, कम्पनीले भने मजदुरका सबै माग पूरा गर्न नसक्ने भन्दै कारखाना बन्द ग¥यो । कम्पनीले मजदुरहरुको न्यूनतम पारिश्रमिकमा १६ हजार रुपैयाँसम्मले बढाउने र साथमा अन्य सेवा सुविधासहितको प्रस्ताव अगाडि सारेका थिए तर मजदुरहरुले आफ्ना सम्पूर्ण माग पूरा गर्नुपर्ने भन्दै प्रस्ताव अस्वीकार गरे । र, अन्ततः कारखाना बन्द भयो, मजदुर खाली हात भए । 
सूर्य नेपाल तारो हुनुको पछाडि नितान्त राजनीतिक खेल थियो । अघिल्लो वर्ष चैतदेखि जेठसम्म माओवादीका दुई गुट (पुष्पकमल दाहाल र मोहन वैद्य) र मधेसवादी दलका मजदुरको शक्तिसंघर्षको परिणाम थियो सूर्य नेपाल घटना । खासगरी मजदुरलाई राजनीतिक लाभप्राप्तिको भ¥याङ बनाउँदै आएका दलले बहुराष्ट्रिय कम्पनी बन्द गराउनुलाई आफ्नो विजय ठाने पनि यसले मुलुकको आर्थिक विकासमा कति दुःखद दृष्टान्त छाडेको छ भन्ने हेक्का राखेका छैनन् ।
एक महिनामात्रै निजीक्षेत्रको सबैभन्दा ठूलो टेलिकम कम्पनी एनसेलको टावरमाथि वैद्यनेतृत्वको नेकपा–माओवादीसम्बद्ध मजदुरले आक्रमण गरे । स्विडिस कम्पनी टेलियासोनेराको लगानी रहेको एनसेलमाथिको आक्रमण फगत मजदुरको आक्रोशमात्रै थिएन, यसभित्रको राजनीति त्यत्तिकै बोधगम्य छ । 
एनसेलको माउ कम्पनी टेलियासोनेराले नेपाल स्याटेलाइट (हेलो नेपाल)को सेयर किनेदेखि विभिन्न प्रकारले कर्मचारी कटौती भयो । हेलो नेपालका मुख्य लगानीकर्ता अजय सुमार्गीकै कारण कतिपय करारका कर्मचारीले जागिरबाट हात धुनुप¥यो । जब माओवादी नयाँ शक्तिका रुपमा नेपाली राजनीतिमा आयो, सुरुवातदेखि नै सुमार्गी पुष्पकमल दाहाल (प्रचण्ड)पक्षीय इमानदार व्यापारी रहँदै आए । यही शक्तिको बलमा उनले हेलो नेपालका कर्मचारीलाई राम्रो आशा देखाए तर अन्तमा हात लाग्यो शून्य भयो । हेलो नेपालमा राखिएका अधिकांश कर्मचारी भनसुन र राजनीतिक आस्थाकै आधारमा भर्ना भएका थिए । त्यसैले कुनै कर्मचारीलाई कम्पनीले नियुक्तिपत्र दिएको थिएन । तर, जब टेलियासोनेराले हेलो नेपालको सेयर किन्यो, तब त्यस्ता कर्मचारी कटौतीमा परे । खाईपाई आएको जागिर एकाएक चट हुँदा कर्मचारी सीधै टेलियासोनेराको मुख्य लगानी भएको अर्को कम्पनी एनसेलमाथि जाइलागे । माओवादी टुक्रिएपछि वैद्य समूहले एनसेललाई तारो बनाएको छ, यसको पछाडि दाहालपक्षीय सुमार्गी नै कारक हुन् । एनसेलभित्र आफ्नो पक्षको कर्मचारी युनियन खडा गर्ने योजनामा पनि यो समूह छ । हरसम्भव प्रयास गर्दा पनि यो समूह आफ्नो उद्देश्यमा सफल हुन सकेको छैन । 
यहाँनेर विचारणीय कुरा के छ भने टेलियासोनेराको लगानी हुँदैमा हेलो नेपालका कर्मचारीले एनसेलमाथि धावा बोल्नु नितान्त अराजक कुरा हो । जबर्जस्ती निकालिएको हो भने कर्मचारीहरु श्रम अदालत जानसक्छन्, प्रहरीमा उजुरी गर्न सक्छन् । एउटाको रिस अर्कोमाथि पोख्नुभन्दा कानुनी बाटो समाउन किन नसक्ने ? 
त्यस्तै, केही समयअघि थाई एयरवेजका कर्मचारीले आफूहरुको आयकरसमेत बुझाउनुपर्ने माग राख्दै आन्दोलन गरे । गत वर्ष पनि मदजुर आन्दोलनकै कारण बहुराष्ट्रिय कम्पनी युनिलिभर बन्द भएको थियो । तत्कालीन सत्तारुढ एमाओवादी र अन्य दलसँग आबद्ध मजदुरहरुको आन्दोलनका कारण कम्पनीको मनवानपुरस्थित बसामाडीको कारखाना बन्द भएको थियो । कारखानाले लक्स, लाइफब्वाई, लिरिल साबुन, पेप्पसोडेन्ट, क्लोजप मञ्जन र फेयर एन्ड लभ्लीलगायतका उत्पादन गर्दै आएको थियो ।
विदेशी लगानीका धेरै कम्पनी बन्द हुनुको पछाडि कर्मचारी तथा मजदुरका अनावश्यक माग नै प्रमुख छन् । मजदुरको यस्तै प्रवृत्तिको परिणाम यसअघि आरती सोप एन्ड केमिकल, हुलास बिस्कुटलगायतका कम्पनीले पनि बेहोरिसकका छन् । 
अनावश्यक माग राखी राजनीति गर्न पल्केका केही मजदुरका कारण नेपालमा लगानीमैत्री वातावरण बिग्रँदै आएको छ । कडा कानुन नबनाउने र वर्तमान कानुनलाई समेत कार्यान्वयन नगर्ने र राजनीतिक संरक्षण गर्ने परिपाटीले गर्दा देशमा आर्थिक उन्नति हुन सक्दैन । राजनीतिक पार्टीका नेताहरु पनि भाषण गर्दा विदेशी लगानी भित्र्याउने र आर्थिक उन्नति प्रगतितर्फ लम्कने वातावरण तयार पार्ने भन्ने तर आफ्नै कार्यकर्ताले उनीहरुविरुद्ध आन्दोलन गर्दा र लगानीमैत्री वातावरण बिगार्दासमेत मौनधारण गरी बस्दै आएका छन् । 
मजदुरहरुको नाजायज आन्दोलनकै कारण विदेशी लगानी बन्द हुनु भनेको मुलुकको आर्थिक विकासमा बाधा पुग्नु हो । 
अहिले नेपालबाट दैनिक १ हजारदेखि १४ सय युवा श्रमका लागि बिदेसिरहेका छन् । विदेशी लगानीलाई प्रोत्सानह गरी विदेशी रहेका लाखौ युवालाई स्वदेशमै रोजागारी अवसर सिर्जना गरी खपत गर्नुको साटो सञ्चालनमा रहेका केही विदेशी लगानीसमेत निरुत्साहित गराउँदा आर्थिक प्रगति कसरी हुन्छ ? यदी मजदुरहरुका समस्या साँच्चै राम्रा र तर्कसंगत छन् भने कानुनी उपचारतर्फ लाग्नुपर्छ नकी राजनीतिक आडमा बन्द र आन्दोलनमा उत्रनु । वर्षेनी ९ अर्ब बराबरको कारोबार गर्ने सुर्य नेपाल कम्पनीले मजदुरहरुको अनावश्यक मागका कारण एकाएक बन्द हुँदा त्यसको जिम्मेवारी कस्ले लिने ? मजदुरहरुको आन्दोलनकै कारण विदेशी लगानीलाई निरुत्साहित गर्दै जाने हो भने हामीले कहिले आर्थिक उन्नती गर्ने ? प्रश्न गम्भीर छ ।
स्रोत : कारोबार दैनिक 



Comments

Popular posts from this blog

५ प्रडक्ट जसलाई गुगलले बन्द ग¥यो

चिसोबाट बच्न हात्तिले खाए भोड्का